फाइल तस्वीरः प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज शुक्रबार पनि बस्दैछ । बानेश्वरमा स्थित संसद् भवनमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते सङ्घीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएपछि ७ गतेदेखि त्यसमाथि छलफल हुँदै आएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका क्रममा सांसद्हरुले उठाएका जवाफहरुको एकमुष्ट जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।