फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जानुहुने भएको छ । प्रधामन्त्री जेठ १७ गतेदेखि २० गते सम्म भारतको चारदिने भ्रमणमा जानलाग्नु भएको हो ।
दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तयभएको बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।
यद्यपि, भ्रमणको मिति भने औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । परराष्ट्र स्रोतका अनुसार जेठ १७ गते भारत भ्रमणमा जाने मिति पक्का भएको भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे प्रेस विज्ञप्तिमार्फत् जानकारी दिन गराइने छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका अवसरमा समकक्षी नरेन्द्र मोदीका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुहुनेछ । जेठ १७ भारत पुग्नुहुने प्रधानमन्त्रीले १८ गते भारतीय प्रधानमन्त्री मोदीसँग भेटगर्नु हुनेछ । दुई देशका कार्यकारीहरुबीचको भेटका अवसरमा दुवै देशको हित हुनेगरी केही विषयमा सहमति हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड स्वयम भारतको यस पटकको भ्रमण विशेष खालको हुने र नेपालले नयाँ सिराबाट अगाडी बढ्ने बताउँदै आउनुभएको छ ।
प्रधानमन्त्री १९ गते मुम्बइ जानुहुने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले गत वैशाखको अन्तिममा जाने कुरा थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने र नक्कली भुटानी शरणार्थी प्रकरणले प्रधानमन्त्रीको भारत भ्रमण पर सर्दै गएको हो ।
संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते बजेट सार्वजनिक गर्दैछ । सरकारको बजेट सार्वजनिक भएपछि प्रधानमन्त्री १७ गते भारत जान लाग्नु भएको हो ।