फाइल तस्वीर
काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) भएको छ भने ती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

कोशी प्रदेशको पहाडी भेगमा मौसम बदली छ भने देशका बाँकी प्रदेशमा मौसम सामान्यतया सफारहेको मौसमविद्ले बताएका छन् । मौसम महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज दिउँसो काठमाडौं उपत्यकामा पनि मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने दिउँसो तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।