फाइल तस्वीरः प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापा ।
काठमाडौं — प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद्हरुले नकक्ली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारवाहीको दायरमा ल्याउन माग गर्नुभएको छ । आजको बैठकमा बोल्दै उक्त प्रकरणको अनुसन्धान र सरकारको कामप्रति आशङ्का व्यक्त गर्दै यो प्रकरणमा मुछिएकाहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभाश भएको भन्दै एकपछि अर्का गर्दै यो प्रकरणमा मुछिएकालाई बयान लिनसमेत नबोलाइनु आपत्तिजनक रहेको लामिछानेको भनाइ छ ।

रास्वपाका अध्यक्ष समेत रहनुभएका सांसद् लामिछानेले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । तीन पार्टी बसेर यो विषय मिलाउन खासखुस गरिएको भन्दै तीन ठूला दलका शीर्ष नेताहरुको भेटघाटप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

यसैगरी आजको बैठकको सून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्रबहादुर शाहीले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई निलम्बन गरेर छानविन गर्न माग गर्नुभयो । प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद शाहीले छानविनको माग गर्नुभएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख र नेपाल प्रहरीका प्रमुखको संंलग्नता रहेको सार्वजनिक भैरहँदा पनि सरकारले यसतर्फ कुनै चासो नदिएको सांसद् शाहीको भनाइ थियो । मिडियाहरुले गिरफ्तार गरिएको आरोपिहरुको बयानका आधारमा अख्तियार प्रमुख र नेपाल प्रहरीका प्रमुखको संलग्नताबारे समाचार बनाइरहेका छन् । तर सरकारले भने यसतर्फ चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यसैगरी नेपाली काङ्ग्रेसका सांसद् गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले एकपछि अर्को गर्दै उच्च तहका नेता र विशिष्ट पदाधिकारीहरुको नाम समेत आइरहेको भन्नुहुँदै ‘कोको परेको हो, कोको नपरेको हो सुन्दासुन्दै हाम्रो वरिपरि भएका, देखिरहेका, जिम्मेवारीमा रहेका मानिसहरू एकपछि अर्को तानिँदै जाने हो कि भन्नेजस्तो लाग्न थालेको छ’ भन्नुभयो ।

यो प्रकरणमा अब सरकारको अग्नी परीक्षा सुरुभएको सांसद थापाको भनाइ थियो । काङ्ग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद् थापाले यस प्रकरणमा सरकार पछि न्यायालयको पनि परीक्षा हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘अनुसन्धान कसरी भइरहेको छ, सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ ।’