तस्वीरः मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतो ।
काठमाडौं — नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री महतोले मुलुकको जडिबुटी उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री महतोले ‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भुमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ’— भनि आफ्नो धारणा राख्नुभयो ।
कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउँदै नेपालमा कुहिएर जाने काठहरुको कानून अनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
सो अवसरमा मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरुलाई निगरानी गर्ने र कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने बताउनुभयो । आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने दावी गर्नुभयो ।
मन्त्री महतोले भन्नुभयो ‘म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शुन्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिन। देश र जनताको हितमा काम गर्नेछु ।’