फाइल तस्वीरः मौसममा बदली ।

काठमाडौं — आज देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहानदेखि देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशमा पनि एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् अधिकारीले बताएअनुसार देशको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ र यो क्रमशः पूर्व सर्ने क्रममा छ । त्यसैले आज देशभरजसो नै पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुने सम्भावना देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका तराईमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

मौसमविद् अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम भोलि बिहीबारसम्म यस्तै रहने सम्भावना छ । आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिएको छ ।