तस्वीरः मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता रेखा शर्मा ।
काठमाडौं — सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा असोज २ गते हरेक वर्ष उक्त दिवस मनाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

नेपालको शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने बारे अर्थ मन्त्रालयले प्रस्तावलाई पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

सरकारको प्रवक्ता शर्माले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

प्रवक्ता शर्माले ‘तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता रहेछन् । संशोधन गर्ने कुरालाई स्वीकृत गरिएको छ । खासगरी ६० वर्षभित्रका व्यक्तिलाई प्रक्रियामा समावेश गर्ने भनिएकोमा दुई, तीन पटकसम्म निवेदन नआएकाले बढाएर यो ६५ वर्ष बनाएका छौं’— भनि जानकारी गराउनुभयो ।