फाइल तस्वीर: प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा
काठमाडौ.— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिंदै सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताउनुभएको हो ।
गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमले गठबन्धनको साझा आवाज बोक्ने र गन्तव्यहिन नभएको दावी गर्नुभयो ।
राष्ट्रियसभाको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ‘यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन । कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ । सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ’ भनि प्रतिवद्धता जाहेर गर्नुभयो ।
देशमा दुरगामी महत्वको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिकै बलमा सम्भव भएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम पनि त्यसैगरी कार्यान्वयन गरिने जिकिर गर्नुभयो ।
प्रधानमन्त्रीले सांसद्हरुको प्रश्नको जवफा दिनुहुँदै नीति तथा कार्यक्रममा उल्लेख विषय वस्तुको गाम्भीर्यतालाई ध्यान दिए मात्रै बजेट निर्माणको काममा अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्रीले देशको आर्थिक अवस्था थेग्नै नसक्ने गरी नबिग्रिएको र सुधारोन्मुख भएको उल्लेख गर्नुहुँदै कोभिड महामारीपछि रसिया–युक्रेन युद्धको असर पनि हामीमा परेको छ । यसको अतिरिक्त अन्य कारणले पनि आर्थिक मन्दी देखिएको स्वीकार गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले अब सरकारले कृषि, पर्यटन र उद्योगलाई बढावा दिएर आर्थिक अवस्थालाई आत्मनिर्भर बाटोतर्फ लैजाने बताउनुभयो ।