फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौं — सरकारद्वारा सङ्घीय संसदमा पेश भएको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज मङ्गलबार बिहान ११ बजे बस्ने बैठकमा छलफल हुने भएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि जेठ ७ गते आईतबारदेखि बुँदागत रुपमा छलफल भैरहको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद्हरुले आ–आफ्नो धारणा प्रस्तुत गर्दै आउनुभएको छ । यसैक्रममा हिजो सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनर्लेखन गर्न माग गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले आ–आफ्नो राय सुझाव दिनुभएको छ । यसअघि आईतबार भएको छलफलमा विभिन्न राजनीतिक दलका सांसद्हरुले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै संशोधन प्रस्ताव समेत दर्ता गराउनुभएको छ ।