काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको बताउनुभएको हो ।


प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘बेलायतबाट प्रकाशन भैरहेको नेपालब्रिटेन डट कमले १६ औं वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ । सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भै रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ । विदेशमा रहेका सञ्चारमाध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन् ।’

विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक सञ्जाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियता बढ्दै जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।