फाइल तस्वीरः बुद्ध एयरको विमान।
काठमाडौं — बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको हो ।
उक्त जहाजमा मुसा देखिएको भन्दै यात्रुहरुले जानकारी गराएपछि उक्त विमानलाई ग्राउण्डेड गरिएको थियो । काठमाडौंको लागी उडान भर्ने तयारीमा रहेको विमानमा मुसा देखिएपछि शनिबार चेकजाँचका क्रममा विमानभित्र मुसा खोज्ने काम भएको थियो । मुसा फेला नपरेका पछि उक्त विमानलाई जनकपुरमै ग्राउण्डेड गरी मुसा खोज्ने काम भएको थियो ।
ग्राउण्डेड गरिएको विमानमा आज आईतबार बिहान पनि मुसा खोज्ने क्रममा मुसा ट्रयापमा भेटिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको जनकपुर विमानस्थलले जनाएको छ । उक्त विमानलाई आजै प्रशिक्षक चालकसहितको प्राविधिक टिमले काठमाडौं ल्याएको थियो ।
बुद्ध एयरका अनुसार विमानको थप निरीक्षण गरी आईतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान सुरुगर्ने छ । बुद्ध एयरले सतर्कता अपनाउँदै यात्रुलाई पनि आफ्नो ब्याग तथा लगेजलाई राम्रोसँग बन्दगरी ल्याउन समेत अनुरोध गरेको छ ।