काठमाडौं — प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा प्रतिनिधिसभा सांसद् अजयकुमार चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सांसद् चौरसियाले देशको गरिबी हटाउन शिक्षा, स्वास्थ्य कृषि र रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले सार्वजनिक विद्यालयहरूमा पढाइ नहुने र सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचार नहुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद् चौरसियाले भन्नुभयो, ‘देशले गरिबी हटाउन तीन–चार वटा कुरा गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीकोको व्यवस्था गर्नुपर्ने हो । आज सार्वजनिक विद्यालयहरूमा पढाइ हुँदैन । गरिब जनताका छोराछोरीहरू पढ्न पाउँदैनन् । सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था हुँदैन । पर्साको ठाकुराम बहुमुखी क्याम्पस र नारायणी उपक्षेत्रिय अस्पतालको व्यवस्था सुधार गर्नका लागि सरकार के गरिरहेको छ ? म जान्न चाहन्छु ।’
प्रतिनिधिसभा सदस्य अनिता देवीले सरकारले कित्ताकाट खुल्ला गरेको निर्णयलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले उखु किसानलाई उनीहरूको उत्पादनको मूल्य दिने सरकारको निर्णय आजसम्म कार्यान्वयन नभएको बताउनुभयो । उहाँले निर्णय कार्यान्वयन गर्न नसक्नुको जवाफ पनि माग गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले भन्नुभयो, उखु किसानलाई उत्पादनको मुल्य दिने भनेर सरकारले पटक–पटक निर्णय गर्छ, तर आजसम्म उखु किसानले उत्पादनको मुल्य पाएका छैनन् । उखु किसानहरु आन्दोलन गर्न बाध्य। यो देशमा सरकार बिचौलियाले चलाएको छन् कि जनताले ? सरकारले आफैँले लागू गरेको निर्णय किन कार्यान्वयन गर्न सक्दैन? जवाफ पाऊँ।’
यस्तै, प्रतिनिधिसभा सदस्य अमरबहादुर रायमाझीले देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भइरहेको उल्लेख गर्दै आगामी शिक्षा ऐनमा उनीहरूको सेवा, सुविधा, दरबन्दी प्रष्ट रूपमा लेखिनुपर्ने बताउनुभयो । सदस्य डा. सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको बताउनुभयो । उहाँले उखु किसानको भुक्तानीको समस्यालाई तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
यस्तै, प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशीले सरकारले नागरिकतासम्बन्धी विधेयक विलम्व नगरी अगाडि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट बाट भारतीय सुरक्षाकर्मी हटाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री भारत भ्रमण गर्दै हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सुरक्षाकर्मीलाई हटाउनका लागि पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले यात्री बाइक दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले पाँचखालमा वर्षाले धेरै बालीनालीको नोक्सान गरेको भन्दै बाली बीमा र गटबन्धको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले सरकारले सहिदहरुको सूची प्रकाशन गरेको विषय उठाउँदै यानप्रसाद गौतमको नाम नपरेको भन्दै सहिद कि गद्दार हुन् भनेर प्रश्नसमेत गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले देशमा धर्मलाई राजनीतिको दुनो सोज्याउने हतियार बनाइएको भन्दै यसतर्फ समेत सचेत गराउनुभयो ।
प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाइ गर्न माग गर्नुभयो ।
यस्तैगरी प्रतिनिधिसभा सदस्य असिम साहले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिनुभएको र सम्पर्कबिहीन भनिएको प्रतिनिधिसभा सदस्य प्रतिनिधिसभामा उपस्थित भएको भन्दै उहाँलाई सोधपुछ गरियो, गरिएन भनेर प्रश्न गर्नुभयो ।