हेटौडा — बागमती प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । सत्ता गठबन्धनको भागबण्डामा सहमति जुटेपछि सरकार विस्तार हुन लागेको हो । भागबण्डा मिलाउनका लागि १० वटा मन्त्रालय रहेको फुटाएर ११ वटा मन्त्रालय बनाउन गठबन्धन दलहरुबीच सहमति जुटेको छ ।
सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएको हो । जसअनुसार नेपाली काङ्ग्रेसले पाँच वटा मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिनेछ । माओवादी केन्द्रबाट चार र काङ्ग्रेसबाट दुई जना मन्त्री सरकारमा छन् । अब काङ्ग्रेसले तीन मन्त्रालयमा मन्त्री पठाउने छ । यसैगरी नेकपा एकीकृत समाजवादीको भागमा दुई वटा मन्त्रालय परेको छ ।
आज विस्तार हुने बागमती प्रदेश सरकारमा तीमध्ये तीन जनालाई विभागीय जिम्मेवारी दिने र बाँकी एक जनालाई तत्काल बिना विभागीय जिम्मेवारीमा राखिने भएको छ । मन्त्रालय फुटाएर कार्यविभाजन नगरुन्जेल काङ्ग्रेसका एक जना मन्त्रीलाई बिना विभागीय राखिने बताइएको छ । नेकपा एकीकृत समाजवादीको भागमा कृषि तथा पशुपक्षी मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय परेको छ ।
यसैगरी काङ्ग्रेसलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । काङ्ग्रेसका एक मन्त्रीलाई भने पछि विभागीय जिम्मेवारी दिइने जनाइएको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाबीच आईतबार बसेको बैठकले भागबण्डा टुङ्ग्याएको हो । आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण गराउने गरी तयारी भइरहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।