फाइल तस्वीर
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय बुझाइने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारेमा नेपाल प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउन लागिएको हो ।
यस प्रकरणमा गत दुई महिनादेखि अनुसन्धानमा गरिरहेको नेपाल प्रहरीले सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवम् एमालेका सांसद् टोपबहादुर रायमाझी, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायत १६ जनालाई गिरफ्तार गरी बयान लिइसकेको छ । यस प्रकरणका मुख्य योजनाकार मानिएका ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई २०७९ चैत १२ गते पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।
पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले गत चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मालाई प्रहरीले पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र बहालवाला सचिवसहितको ठूलो गिरोहको संलग्नता खुलासा भएको थियो ।
नक्कली भुटानी प्रकरणको अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।
आफ्ना देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्कर जस्तो जघन्य अवराधमा सरकारका मन्त्री र सचिव नै लाग्नु राज्यविरुद्धको अवराध अक्षम्म हो । यही प्रकरण एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई वैशाख १९ गते र तात्कालीन समयमा गृहमन्त्रालयको जिम्मेवारीमा रहेका गृह सचिव टेकनारायण पाण्डेलाई २० गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको बयान र रकम लेनदेनको प्राप्त प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका प्रतिनिििधसभा सदस्य टोपबहादुर रायमाझी वैशाख ३१ गते लुकिछिपि बसेको अवस्थामा काठमाडौंको बुढानिलकण्ठबाट गिरफ्तारीमा परेका थिए । संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता आङ्टावा शेर्पालाई पनि सोही प्रकरणमा प्रहरीले जेठ १ गते पक्राउ गरेको थियो । यस प्रकरण पार्टीकै शीर्ष तहका नेताहरुको समेत संलग्नता रहेको छ भन्ने रायमाझी र खाँणको संलग्नताले पुष्टिगरिसकेको छ ।
नक्कली भुटानी प्रकरणमा भुटानी मानवाधिकारवादी तथा भुटानी शरर्णार्थीका नेता टेकनाथ रिजालका साथै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । एमाले उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजीत राईका छोरा निरज राईको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेका यी दुवै जना अहिलेसम्म फरार छन् । बाँकी १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।
यस प्रकरणका आरोपीहरु मध्ये अझै १६ जना प्रहरीको खोजीमा छन् । पक्राउ परेका १६ जनालाई आज आईतबार प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारीमा जुटेको छ ।
छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा पूर्वसहसचिव बालकृष्ण पन्थी संयोजक तथा गणेशबहादुर केसी विज्ञ र दीपकप्रसाद न्यौपाने सदस्यसचिव रहेको कार्यदलले तत्कालीन गृहमन्त्री बादललाई बुझाएको प्रतिवेदन फाइल तात्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफ्नो कब्जामा लिएर नेपाली नागरिकलाई भुटानी शरणार्थीमा नाम थपेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । भुटानी शरणार्थीमा नेपाली नागरिकहरुको नाम समावेश गरी रकम असुली गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यसप्रकरणमा एक अर्ब रुपैयाँभन्दा बढि रकम ठगीभएको छ भने यसप्रकरणमा पीडित हुनेको सङ्ख्या करिब नौ सय रहेको छ । यस प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत सबै ३२ जनालाई नै ठगी र सङ्गठित अपराधमा मुद्दा चलाइने भएको छ । राज्यविरुद्धको अपराधमा पनि रायमाझी, खाँणका साथै बहालवाला सचिव टेकनारायण पाण्डे र इन्द्रजीतमाथि मुद्दा चल्नेछ ।
यसप्रकरणमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको पनि कुनै न कुनै रुपमा संलग्नता रहेको आम नागरिकहरुको बुझाइ छ । नक्कली भुटानी प्रकरणले नेपालको बदनाम भएको छ । अन्तर्राष्ट्रिय रुपमै यो प्रकरणलाई गम्भीर रुपमा हेरिएको छ । यो प्रकरणलाई रायमाझी र खाँडभन्दा माथिल्लो तहका नेतालाई गोजाउने खेल भैरहेको नागरिक अभियानका अगुवाहरुको आरोप छ । नेपाली काङ्ग्रेसले अहिलेसम्म आफ्नो पार्टीका नेता पूर्वगृहमन्त्री खाँणलाई निलम्बन नगर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
नक्कली भुटानी प्रकरणका आरोपिविरुद्ध राज्यविरुद्धको अपराध, सङ्गठित, अपराध, ठगी र किर्ते गरी चार किसिमका मुद्दा चलाउन पर्ने प्रहरीको निष्कर्ष छ ।