फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौं — प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बानेश्वरस्थित सङ्घीय संसदभवनमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।
सङ्घीय संसद्को संयुक्त दुवै बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभाको बैठकमा छलफल सुरु हुनेछ । सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट तर्जुमा गरिने छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरी प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको कार्यनीतिका रुपमा लिनेगरिन्छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । उक्र नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तावहरु पनि प्रस्तुत हुनेछन् ।
आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसद्हरुबाट उठाइएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । प्रधानमन्त्रीको जवाफपछि सरकारको नीति तथा कार्यक्रम पारित गरिनेछ । सरकारको नीति तथा कार्यक्रमलाई आधारमानेर आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नेछ । संंविधानमा उल्लेख गरिएअनुसार सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते आर्थिक वर्ष २०८०÷०८१ को बजेट संसद्मा पेश गर्नुहुनेछ ।