फाइल तस्वीरः नागरिक उन्मुक्ति पार्टी
काठमाडौं — नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । भोलि ६ गतेदेखि १० गतेसम्म विभिन्न आन्दोलनसहित नेपालबन्द गर्ने घोषणा गरेको नाउपाले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालबन्द घोषणाको कार्यक्रम फिर्ता लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिनुभएकोले भन्दै उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नेपालबन्दलगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
सो पार्टीका वरिष्ठ उपाध्यक्ष पण्डितद्वारा जारी विज्ञप्तिमा ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ’— भनि उल्लेख गरिएको छ ।