तस्वीरः सङ्घीय संसद्को संयुक्त बैठक ।
काठमाडौं — सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ आयोजनाहरुको पूर्व तयारी गरिसकेरमात्रै त्यसका लागि बजेट विनियोजन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रम वाचन गर्नेक्रममा पूर्व तयारी सकेपछि मात्रै आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । आयोजना वर्गीकरण निर्देशिका बमोजिम राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीन तहमा सञ्चालन हुने गरी आयोजनाको वर्गीकरण गर्ने प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आयोजनाको लागि चाहिने सहज जग्गा प्राप्ति, खरिद प्रक्रियालाई सहज बनाउन नयाँ कानुन बनाउने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।