फाइल तस्वीर
काठमाडौं — नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँ ठगी प्रकरणमा संलग्न रहेको आरोपमा हज समितिका अध्यक्ष मियालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल हज समितिका अध्यक्ष मियाँलाई आज बिहीबार प्रहरीले सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनी सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।
मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । पक्राउ पुर्जी जारी गरिएका दुईजना फरार छन् ।
यसअघि नक्कली भुटानी शरणाथी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डपाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका थिए । त्यसैगरी नेपाली काङ्ग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टङ्कबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन् ।