फाइल तस्वीर

काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।समितिका सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा आज बिहीबार बिहान ९ बजे बसेको बैठकले समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित गरेको हो।

प्रतिनिधिसभाका जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको हो । कार्यविधिमा विनाजानकारी पाँच बैठकमा अनुपस्थित हुने सदस्यलाई निष्कासन गर्ने व्यवस्था छ । अनुपस्थित हुने जानकारी एसएमएसबाट गराउन सकिने व्यवस्था छ । त्यस्तै, संविधानले मानव अधिकारलाई निर्देशन दिन नमिल्ने भनेकाले प्रतिवेदनमा छलफल गर्ने व्यवस्था राखिएको छ ।

कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधि अनुसार विनासूचना निरन्तर ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा रहेको समिति सचिव अधिराज राईले समितिमा जानकारी गराउनुभयो ।

विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्काशन गर्न सक्ने प्रस्तावसहितको कार्यविधि राईले समितिमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई स्वीकार गर्दै समितिले सर्वसम्मत रुपमा पारित गरेको हो ।