काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग सहित नेकपा एकीकृत समाजवादीले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

नेकपा एसले हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन बुझ्दै उप्रधान एवं गृहमन्त्री श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको थियो ।

गृहमन्त्री श्रेष्ठले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।