फाइल तस्वीर
काठमाडौं — नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधारमात्रै प्रजातन्त्रको भविष्य सुरक्षित रहने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औं राष्ट्रिय महाधिवेशन तथा २५औं साधारणसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति यादवले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको काङग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको उल्लेख गर्नुभयो ।

गिरिजाप्रसाद कोइराला काङ्गे्रस पार्टीको सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने काङ्गे्रसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातनत्रमाथि खतरा आउने प्रथम राष्ट्रपति यादवको भनाई थियो ।

पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उहाँले समाजका सदस्यहरुलाई आह्वान गर्नुभयो । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

बिहीबारसम्म राजधानीमा चल्ने समाजको महाधिवेशनमा सात प्रदेश र ७० जिल्लाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो । समाजको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्य समितिसमेत गठन गर्ने जनाइएको छ ।