काठमाडौं — आज मदन–आश्रित स्मृति दिवस । नेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । वि.सं २०५० जेठ ३ गते दासढुङ्गा, चितवनमा रहस्यमय जीप दुर्घटनामा परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाईदैछ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज ३० वर्ष पुगेको छ । कम्युनिस्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरेका थिए । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ ।
बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ, भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।
हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणा गरेको छ । रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।