फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं — सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सत्ता समर्थक दलको बैठक सुरुभएको हो ।

बैठक भरखरैमात्र सुरुभएको छ । बैठकमा प्रधानमन्त्रीसहित नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता सहभागी हुनुहुन्छ ।

सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । मुख्यगरी, सत्तारुढ दलको बैठक यसै विषयमा केन्द्रित रहेर छलफल हुनेछ । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव माग्नका लागि बैठक आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत गर्ने निश्चित भएको छ ।