फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।
नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना पटक पटक समय थप गर्दै १८ वितिसकेको छ ।

बाँके र बर्दिया जिल्लाका किसानलाई लक्षित गरी निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको आयोजनाको हालत देख्दा आयोजनालाई भ्रष्टाचार गर्ने दुहुनो गाई बनाइएको छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँको लागतमा आठ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको यस आयोजनामा अहिलेसम्म ५२ अब ८९ करोड रुपैयाँ खर्च भैसकेको छ ।

बाँकेका किसानहरुको भाग्य चम्काउने भनि २०६२ सालबाट आयोजना सुरु गरिएको यो आयोजना २०८० सालमा पनि सम्पन्न हुनेदेखिंदैन । किसानहरु आयोजना कहिले सम्पन्न होला र कृषि उत्पादन बढाउन पाइएला भनेर आश गरिबसेका छन् । सिंचाई सुविधाले उत्पादकत्वमा वृद्धि हुने र खाद्यान्न आयातलाई केही हदसम्म प्रतिस्थापन गर्न सकिने सपना त्यहाँका किसानहरुले बोकेका छन् ।

आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर विशाल यादवका अनुसार राप्तीसोनारी गाउँपालिकाका केही वडा र नरैनापुर गाउँपालिकाका सबै वडामा सिँचाइ पु¥याउन पूर्वी नहरको ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने गरी पहिलो गुरुयोजना संशोधन भएको थियो ।

गुरुयोजनालाई परिमार्जन गरेर आर्थिक वर्ष २०७६/७७ सम्ममा २५ अर्ब २ करोड रुपयाँको लागतमा आयोजना सम्पनन गर्ने लक्ष्य राखियो । दोस्रोपटक निर्धारण गरिएको लक्ष्यअनुसार काम नभएपछि तेस्रोपटक आयोजनाको लागत र समयसीमा बढाएर ५२ अर्ब ८९ करोडको लागत पु¥याइएको बताउनुहुन्छ इञ्जिनियर यादव ।


सिनियर डिभिजनल इञ्जिनियर यादवका अनुसार तेस्रो चरणको गुरुयोजना अनुसार आगामी १० वर्षभित्र अर्थात् आर्थिक वर्ष २०८९/०९० भित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो फेजबाट नहर, मूल नहर, शाखा, प्रशाखा निर्माण गर्ने मात्र नभई सिञ्चित क्षेत्र बचाउको कार्यक्रम पनि राखिएको छ ।

सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न भएमा पश्चिमी नहरबाट बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, खजुरा, जानकी बैजनाथ, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट राप्तीसोनारीका केही वडा र नरैनापुर गाउँपालिकाको गरी ९ हजार हेक्टर गरी ४२ हजार ७६६ हेक्टर कृषियोग्य खेतमा सिंचाई गर्न पानी पुर्याउने लक्ष्य छ । ४६ हजार ७१५ किसान परिवारले वर्षभरी नै सिंचाई सुविधा पाउने र कृषि उत्पादकत्व दुई गुणाले वृद्धि हुने बताइएको छ ।

आयोजनाका अनुसार सिक्टा सिँचाईको पश्चिमी मूलनहर ४५ दशमलव २५ किलोमिटर निर्माण भइसकेको छ । जसबाट १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ भने पूर्वी नहरको ५३ दशमलव ५ किलोमिटरमध्ये ३९ दशमलव ६७५ किलोमिटरको काम सम्पन्न भई करिव पाँच हजार हेक्टरमा सिंचाई सुविधा पुगिसकेको सिनियर डिभिजनल इञ्जिनियर यादव बताउनुहुन्छ ।

कृषि मन्त्रालयका अनुसार बाँके जिल्लामा करिव ५२ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये ३६ हजार हेक्टरमा धान खेती हुन्छ । धान खेती हुने अधिकांश जमिनमा सिंचाईको सुविधा छैन । त्यहाँका किसानहरुले आकाशे पानीको भरमा धान खेती गर्दै आएका छन् । सिनियर डिभिजनल इञ्जिनियर यादवका अनुसार आयोजनाबाट करिव २१ हजार हेक्टरमा सिंचाई सुविधा पुगेकाले छ ।