फाइल तस्वीरः अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महत ।
काठमाडौं — अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धनमा कुनै प्रभाव नपर्ने बताउनुभएको छ । पार्टी प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा. महतले नेपाली काङ्ग्रेसको नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीमा उत्पन्न परिस्थितबारे जानकारी दिन आज मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा वर्तमान सत्ता गठबन्धनमा कुनै प्रभाव नपर्ने बताउनुभएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै काङ्ग्रेस प्रवक्ता महतले ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था म देख्दिन । यही प्रकरणले सत्ता गठबन्धन तलमाथि हुने सम्भावना छैन’— भन्नुभयो ।
नक्कली शरणार्थी प्रकरणमा कोही निर्दोष नफसुन् र कोही दोषी नउम्किउन् भन्ने पक्षमा नेपाली काङ्ग्रेस रहेको भन्नुहुँदै अर्थमन्त्री महतले यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वसांसद आङटावा शेर्पासहितले अनुसन्धानमा सघाउने दावीसमेत गर्नुभयो ।
‘बालकृष्ण खाँणजीले अनुसन्धानमा सघाउनु हुन्छ । सघाइरहनु भएको छ । दोषी निर्दोष हुने, निर्दोष दोषी हुने कुरा ठीक होइन । ‘हामी दोषीलाई बचाउनु पर्छ भनेर भन्दैनौं’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै काङ्ग्रेस प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महत भन्नुभयो ।