फाइल तस्वीर : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गरेका सबै राजनीतिक दलका नेताहरुलाई छलफल गर्नका लागि बैठक बोलाउनुभएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मङ्गलबार दिउँसो साढे दुई बजेका लागि बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले जेठ ५ गते शुक्रबार ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन दलका नेताहरूलाई बोलाउनुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्न सरकार समर्थक १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई आमन्त्रण गर्नुभएको बताइएको छ ।