फाइल तस्वीरः प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरे ।
काठमाडौं — आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ५ गते शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विषयमा आज मङ्लबार बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थिए । उहाँहरुबीच संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले भेटका अवसरमा संसदमा सबै दलसँग समन्वय र सहकार्यको प्रयास गर्नुभएको भन्दै सभामुख घिमिरेलाई धन्यवाद दिनुभएको थियो ।
मङ्सिर ४ गते भएको निर्वाचन पछि प्रतिनिधिसभा गठन भएकोमा छ महिना पछि संसदीय समितिहरुको बैठक सुरु थियो । प्रधानमन्त्रीले अब संसद्ले लय समातेको भन्नुहुँदै संसदमा विचाराधिन विधेयकहरु टुङ्गो लगाउन अब सहज हुने अपेक्षा गर्नुभएको थियो ।
यसैगरी सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी प्रधानमन्त्रीलाई दिनुभयो । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै सभामुख घिमिरेले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो । सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि प्रधानमन्त्रीले आभारी व्यक्त गर्नुभएको छ ।