फाइल तस्वीरः लुम्बिनी प्रदेश सरकार, सभा
दाङ — लुम्बिनी प्रदेश सरकारले बजेटको तयारी गर्दैछ । आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २० प्रतिशत बजेट कटौती गरेर बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने समय सङ्घारमा आइपुग्दा आर्थिक मामिला मन्त्री नियुक्त गर्न सकेको छैन । उक्त मन्त्रालयका प्रवक्ता पाण्डे “विभागीय मन्त्री तोकिनुभएको छैन, त्यसले गर्दा नीतिगत छलफल गर्न पाइएको छैन”, उहाँले भन्नुभयो, “राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशतमात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ ।”

विभागीय मन्त्री नियुक्ति भएमा सोही नीतिगत छलफल गरेरै अगाडि बढ्ने उहाँले बताउनुभयो । अहिले प्रि–बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारण अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले बताउनुभयो । “अहिले प्रि–बजेट छलफल चलिरहेको छ । बजेटको सीमा निर्धारणको अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “बजेटका मार्गनिर्देशन वितरण भएको छ ।”

अघिल्लो सरकारले गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो । विगतको बजेटमा २० प्रतिशत कटौती भएमा आगामी आर्थिक वर्षको बजेट ३४ अर्ब १० करोड रुपैयाँको हाराहारीमा बजेट आउने आङ्कलन गरिएको छ ।

यस वर्ष नयाँ योजना थप्नेभन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता पाण्डेका अनुसार विगतका जस्ता साना योजना कटौती हुने छन् । समृद्धि, रोजगारी र गरिबी निवारण नै मुख्यमन्त्रीको प्राथमिकता रहेकाले यसकै सेरोफेरोमा बजेट आउने सम्भावना रहेको उहाँले बताउनुभयो । तर त्यो कुरा नीति तथा कार्यक्रमपछि मात्रै थाहा हुने बताउनभुयो । राष्ट्रिय लक्ष्य पनि आर्थिक समृद्धि र रोजगारी नै भएकाले यसतर्फ बढी केन्द्रित हुनसक्ने उहाँको भनाइ थियो ।