फाइल तस्वीर : प्रतिनिधिसभा बैठक ।
काठमाडौं — प्रतिनिधिसभाको बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि दफवार छलफल संसदीय विषयगत समितिमा पठाएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकलाई सम्बन्धित समितिमा पठाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीमन्त्री महिन्द्र राय यादवले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री यादवले प्रस्तुत गर्नुभएको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

यो विधेयकमा मुख्यतः सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि निश्चित अवधिभित्र मात्रै मुद्दा चलाउनुपर्ने व्यवस्था गरिएको छ । यस विषयमा केही दल र सांसदहरुले समय सीमा तोक्नु गलत रहेको भन्दै विरोध जनाएका छन् । यसैसन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजको बैठकमा समेत भ्रष्टाचार जस्तो जघन्य विषयमा हदम्याद राख्न नहुने भन्दै प्रस्तावको विरोध गर्नुभएको थियो ।