काठमाडौं – विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच वामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। ५९औँ विद्यार्थी एकता दिवसको अवसरमा नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन्।
राष्ट्रिय नाचघरमा मध्याह्न १२ बजे सुरु हुने कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संवोधन गर्ने तयारी छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिनुभयो ।
‘विद्यार्थी दिवस र अबको बाटो’ नाम दिइएको कार्यक्रममार्फत ‘विद्यार्थीहरुमा एकताको सन्देश दिन संयुक्त कार्यक्रम गर्न लागेका छौँ ।’ पराजुलीले भन्नुभयो, ‘पार्टी सडक र सत्तामा जहाँ भए पनि हामी सँगै छौ र सँगै हुनेछांै ।’