काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।


आजको बैठकका लागि दुई वटा सम्भावित कार्यसूची राखिएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

यो विधेयक राष्ट्रिय सभाबाट भने पारित भइसकेको छ । साथै आजको बैठकले संविधानसभा सदस्य पुरुषेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । नेपाली काङ्ग्रेसबाट २०६४ मा संविधानसभा सदस्य बनेका बस्नेतको वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।