फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आज सोमबारबाट सुरू हुँदैछ । काठमाडौंको धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आजबाट सुरू हुने बैठक आगामी बुधबारसम्म चल्ने भएको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने बताइएको छ ।

पार्टी सचिवालयले जनाए अनुसार बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने बताइएको छ । बैठक वैशाख ३० र ३१ गते बस्ने भनिएता पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो।