फाइल तस्वीरः एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वउपप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेकाछन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेको रायमाझीलाई नेपाल प्रहरीले आईतबार साँझ काठमाडौंको बुढानिलकण्डबाट पक्राउ गरेको हो ।

वैशाख १० गते गृह जिल्ला अर्घाखाँचीमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै कार्यक्रममा सहभागी हुन पुगेको रायमाझी नेपाली नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले उनलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको थियो । आफुलाई पक्रिने खबर पाएपछि रायमाझी भैरहवाहुँदै बेपत्ता भएका थिए । उनी पार्टीकै एक कार्यकताको सहयोगमा पोखरा पुगेका र शनिबारमात्रै काठमाडौं प्रवेश गरी बुढानिलकण्डमा लुकेको अवस्थामा प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले हिजो साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

मोटोे रकम असुरले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेपाली काङ्ग्रेस र एमालेका पार्टीका उच्चस्तरका नेता, सरकारका बहालवाला सचिवदेखि मन्त्रीका छोराहरु र पूर्वसांसदहरुको सम्लग्नदेखिए पछि नेपाल प्रहरीले यो प्रकरणको अनुसन्धानलाई अगाडि बढाएको छ । अहिलेसम्म यस प्रकरणमा टोपबहादुर रायमाझीसहित १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।