फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पढ्ने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार भैनसकेका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने हुनुभएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज आईतबार बसेको सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्ने सहमति गरेको हो ।
आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आगामी जेठ ३ गते बुधबार संसदमा राष्ट्रपति पौडेलले पेश गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपतिको स्वास्थ्य पूर्णरुपमा सुधान भैनसकेकोले उहाँले वाचन गर्न बाँकी प्रधानमन्त्रीले संसदको बैठकमा वाचन गर्न तीन ठूला दल सहमत भएका हुन् ।
नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले बताउनुभएअनुसार राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेपछि बाँकी पाठ प्रधानमन्त्री प्रचण्डले वाचन गर्नुहुने भएको छ ।
काङ्ग्रेस नेता लेखकले ‘राष्ट्रपतिजी अलि अस्वस्थ हुनुहुन्छ । सबै उहाँले पाठ गर्न सक्नुहुने होइन’ भन्नुहुँदै ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर बाँकी पाठ प्रधानमन्त्रीले वाचन गर्ने विषयमा छलफल भए अनुसार सहमति गरेर अगाडि बढ्ने कुराकानी भएको छ’— भन्नुभयो । यस विषयमा कार्यव्यवस्था समितिले निर्णय गर्ने छ ।