फाइल तस्वीरः नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतम।
नेपालगञ्ज – बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता सञ्जय गौतमले आमरण अनशन थाल्नुभएको छ । बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्किएको र बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहनु भएको भन्दै सो पुल निर्माण गर्नुपर्ने माग गर्दै हिजो शनिबारदेखि आमरण अनशन बस्नुभएको हो ।

पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किए थियो । यो पुल निर्माण नहुँदा स्थानीयवासीले ठूलो सास्ती खेप्दै आएका सांसद् गौतमको भनाइ छ ।

बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जाने सवारी साधन गुड्ने सडक छैन । सदरमुकाम गुललिया जान जयनगर–गुलरियाको १३ किलोमिटर दूरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानुपर्दछ ।

बर्दियास्थित भत्किएको जब्दीघाट पुल ।

बर्दियास्थित जब्दीघाटमा डुङ्गा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल बनाएका छन् । तर उक्त पुलबाट मानिस हिड्न प्रत्येक पटक दश रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यहाँका ठेकेदारले साइकलको समेत दश रुपैयाँ लिने गरेका स्थानीयको भनाइ छ । साइकल र मानिस आउन जान गर्दा ४० रुपैयाँ तिनुपर्ने बाध्यता छ । ठेकेदारले मानिस र मोटरसाइकलको अलग अगल रकम असुल गर्दै आएका छन् । मोटरसाइकल र २५ र मोटरसाइलका एक जना सवार भए २५ रुपैयाँ र दुई जना भए ३५ रुपैयाँ थल पैसा असुल गर्दै आएका छन् ।

पप्पु कन्ट्रक्सन कम्पनीले बनाएको जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो । पप्पु कन्ट्रक्सनले बनाएका प्राय सबै पुल गुणस्तरहिन, मापदण्ड पुरा नभएको पटक पटक सार्वजनिक हुँदैआएको छ । निर्वाचनको समयमा स्थानीय जनतासँग आफुले निर्वाचन जितेमकाृ एक महिनामा जब्दीघाटमा वैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेता गौतमले सदनदेखि सम्बन्धित निकायसम्म बेलिब्रिजको निर्माण गर्न आग्रह गर्दासमेत कहिंकतैबाट सुनुवाई नभएपछि आमरण अनशनमा बस्नुपरेको बताउनुभयो ।

पप्पु कन्ट्रक्सनले निर्माण गरेर भत्किएको पुलमा बसेर गौतमले आमरण अनशन सुरुगर्नुभएको छ । नेता गौतमले १५ बुँदे माग अघि सार्दै अनशन सुरु गर्नुभएको छ । गौतमले आफ्नो १५ बुँदे मागको पहिलो नम्बरमा उक्त पुल निर्माणको कुरा उल्लेख गर्दै तटबन्ध, सिँचाइ, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल–बीउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग राख्नुभएको छ ।