बर्दिया — नेपाली काङ्ग्रेसका सांसद् एवम् पूर्व मन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गर्नुभएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतमले बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर शनिबार साँझ देखी अनसन सुरु गर्नुभएको हो ।
जब्दीपुल निर्माण, बबई सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, गुलरियामा तटबन्ध निर्माणको बाँकी काम गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसन सुरु गर्नुभएको छ । सो अनसनमा बस्नु अघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाउनुभएको थियो ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भए पछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ । सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग राख्नुभएको छ ।