काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको हो ।
सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उहाँले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले माओवादी र काङ्ग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिस्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो ।