फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछाने ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिनुभएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले भ्रष्टाचारविरुद्धको आन्दोलनमा आफुहरु सडकमा उत्रिने बताउनुभएको छ ।
रास्वपाका सभापति लामिछानले प्रधानमन्त्रीसँगको भेटमा ‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईँलाई धन्यवाद छ । सडकबाट के के सहयोग गर्न सकिन्छ, सबै सहयोग मैले गर्छु । हामी अब भ्रष्टाचारीविरुद्ध सडकमा उत्रिन्छौं’— भन्नुभयो । विभिन्न कारणले आफुहरु सरकारमा सहभागी हुन नसकेपनि सरकारको राम्रो कामलाई पार्टीले सहयोग गर्ने सभापति लामिछानेले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने सवालमा रविको सहयोगको अपेक्षा गरेका थिए । ‘सकभर त सरकारमा सहभागी भइदिएको भए झन् राम्रो हुन्थ्यो । त्यो हुन नसकेपनि तपाइँहरुले साथ जरुरी छ’, प्रधानमन्त्री प्रचण्डको भनाइलाई उदृत गर्दै रास्वपाका नेताले भने, ‘म भ्रष्टाचारविरुद्ध र सुशासनको सवालमा निर्मम भएर उभिन्छु ।’
रास्वपाले केही दिने पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीले रचनात्मक प्रतिपक्षमा बसेर भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने जनाएको छ ।