फाइल तस्वीरः निर्वाचन आयोग
काठमाडौं – निर्वाचन आयोगले ८२ वटा राजनीतिक दलहरुलाई लेखा परीक्षण गरी सार्वजनिक सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न ८२ वटा राजनीतिक दलहरुले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको प्रति सचेत गराउँदै तत्काल सार्वजनिक गर्न निर्देशन दिएको हो ।
पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय बुझाउन दलहरुलाई आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरेको छ ।
साथै आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन कानुनले तोकेको समयभित्र पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ ।