फाइल तस्वीर
काठमाडौं — कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताउनुभएको छ । उहाँले मन्त्रालयले हिजो बिहीबार आयोजना गरेको कार्यक्रममा यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।
मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि मल, बीउबिजन, विषादी न्यूनीकरण, यान्त्रिकीकरण, बजारीकरणको व्यवस्थापनमा महत्त्व दिएर कृषकलाई सहुलियत दिने गरी ऐन ल्याउन विज्ञसँग छलफल लिइएको बताउनुभयो ।
मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै सबैभन्दा ठूलो कुरा कामप्रतिको लगाव महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी जाँचसम्बन्धी नयाँ निर्णय गरेको भन्दै यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचे जस्तो काम हुन नसकेको भन्दै यतातर्फ गम्भीर हुन कर्मचारीलाई निर्देशन दिनुभयो ।
कृषिमन्त्री भुसालले कृषि उपजको प्रयोगमा उपेक्षा हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले मानवीय स्वास्थ्यसँग सम्बन्धित विषयमा गम्भीर रहेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । कानूनको अभावमा काम हुन नसक्ने स्थिति आए सरकारलाई खबरदारी गर्नुपर्ने भन्दै उहाँले अरु काम सम्बन्धित कार्यालयको हुने बताउनुभयो । सबै आआफ्नो काममा लागे मात्रे सोचेजस्तो सफलता हात पर्ने उहाँको भनाइ थियो ।