फाइल तस्वीरः एमाले केन्द्रीय कमिटीको बैठक
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिमात्रै बैठक सुरु भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक तीन दिनसम्म चल्ने छ । उक्त बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने र त्यसपछि निर्णय गरिने एमालेले जनाएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायत कार्यसूची छन् ।
एमाले केन्द्रीय कमिटीमा तीन सय ३५ (दुई निलम्बित) सदस्य, चार जना केन्द्रीय निकायका अध्यक्ष र नौ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् । यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो । विशेष कारणले बैठक पार्टी मुख्यालयमा बसेको हो ।