फाइल तस्वीरः प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले थालेको अनुसन्धानमा कुनै किसिमको हस्तक्षेप नहुने बताउनुभएको छ । ठूला तीन दलका शीर्ष नेताहरुको सिंहदरबारमा बसेको बैठक पछि प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिनुभएको हो ।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको तीन दलको बैठकपछि पत्रकारहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ’ —भन्नुभयो ।

मिडियामा प्रचार भएजसरी हामी तीन दलका शीर्ष नेताहरुको भेट नभएको प्रधानमन्त्रीले बताउनुभयो । सदनलाई कसरी अगाडि बढाउने, समितिहरु कसरी बनाउने भन्ने विषयमा छलफल मात्रै भएको जानकारी गराउनुभयो ।

देशका मुख्य तीन ठूला दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा छलफल भएको थियो ।