तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसँग काङ्ग्रेसका नेताहरु
काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा खुट्टा नकमाउन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस रुपान्तरणका लागि देश दौडाहाको तयारी गरिरहेका तेस्रो पुस्ताका नेताहरुले सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठलाई यस्तो आग्रह गरेका हुन् ।
पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि सिंहदरबार पुगेर मन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दवावमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् ।
काङ्ग्रेसका तेस्रो तहका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदमप्रति आफूहरुको ऐक्यवद्धता रहेको बताएका छन् । काङ्ग्रेस नेता मधु आचार्यले ‘सरकारको कदमको हामीले ऐक्यवद्धता रहेको जानकारी गरायौं । भोलिका दिनमा कसैको दवाव र प्रभावमा परेर वा कुनै बहानामा छानविन अवरुद्ध नहोस् भनेर गृहमन्त्रीलाई आग्रह गर्यौं’ — भन्नुभयो ।
उक्त भेटघाटका अवसरमा काङ्ग्रेसका नेताहरुसँग गृहमन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्दै आफुलाइए थप हौसला बढेको बताउनुभयो । भ्रष्टाचारले राजनीति र व्यवस्थामाथि परेको प्रभावबारे राम्रोसँग जानकार छु, । कसैको दबाब र प्रभावमा पर्दिन । आग्रह–पूर्वाग्रह नराखी छानविन हुनुपर्छ भन्ने पक्षमा छु’ गृहमन्त्रीले भन्नुभयो । गृहमन्त्री श्रेष्ठले काङ्ग्रेसका नेताहरुसँग नक्कली शरणार्थी प्रकरणमा संलग्न जुन सुकै घराना र साइनोका भए पनि आफू प्रभावित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।