काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट सङ्कायका विद्यार्थीले पहिलो पटक भिडियोपत्रिका सञ्चालनमा ल्याएका छन् । मङ्गलबार आयोजित समारोहमा विश्वविद्यालयको व्यवस्थापन सङ्कायका डीन प्राध्यापक डिल्लीराज शर्माले ‘स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटी (एसओएमटीयू)’नामक भिडियो पत्रिका शुभारम्भ गर्नुभएको हो ।

उहाँले उद्यमशील व्यक्ति र विद्यार्थीबीच अन्तत्र्रिmया, अनुभव आदानप्रदान तथा अध्ययन गर्न सहज हुनाका साथै मुलुक र समाजका लागि आवश्यक कुरा तथा वर्तमानको आवश्यकताबारे छलफल गर्न यो भिडियो पत्रिका उपयुक्त हुने बताउनुभयो ।

मानव स्रोत, वाणिज्य, प्रविधि, बजारीकरण, उत्पादन, भिडियो सम्पादनका विषयवस्तु र अनुसन्धानजस्ता पक्ष समावेश रहेको भिडियो पत्रिकाबाट विद्यार्थीले संस्थाको कार्यसञ्चालनको पद्धतिबारे सिक्न सक्ने बताइएको छ । यस सङ्कायमा अध्ययन गरेर दिगो व्यवसाय र उद्यमशीलतामा सफल पूर्वविद्यार्थीको कथा पनि मासिकरुपमा भिडियोमार्फत प्रस्तुत गरिने भिडियो सम्पादक मञ्जिल खुलालले जानकारी दिनुभयो ।

“भिडियो पत्रिकाले संस्थाबारे विश्वविद्यालयमै अध्ययन गर्ने अवसर दिन्छ । विद्यार्थीले आफूसँग भएको प्रतिभालाई देखाउन सक्नेछन्”, उहाले भन्नुभयो, “हाम्रो प्रमुख उद्देश्य भनेको विद्यार्थीको प्रतिभालाई डिजिटलरुपमा समृद्ध तुल्याउनु हो ।”

नेपाली विश्वविद्यालयमा पहिलो पटक यसरी भिडियोपत्रिका सञ्चालनमा ल्याइएको समेत सम्पादक खुलालले जानकारी दिनुभयो । गङ्गाराम विश्वकर्मा प्रधान सम्पादक रहनुभएको सो पत्रिकामा खुलालसहित नरेश मुखिया, शरद श्रेष्ठ र सन्तोष शाह भिडियो सम्पादक हुनुहुन्छ ।