तस्वीरः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमाुर नेपाल, नेकपाका संस्थापक निर्मल लामाको २३औँ स्मृति दिवस कार्यक्रममा ।
काठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । आज बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणप्रति इङ्कित गर्दै अध्यक्ष नेपालले अहिले भ्रष्टाचारका फाइल खोलिन थालेपछि नेताहरु कति भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताउनुभयो । देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डले दिइरहेको बताउनुहुँदै पूर्व प्रधानमन्त्री नेपालले भ्रष्टलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको प्रति चिन्ता प्रकट गर्दै देशको अहिलेको राजनीति अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्नुभयो । नेता नेपालले ‘देशको राजनीतिप्रति जनतामा निराशा बढेको छ । जताततै निराशा बढेको छ। निराशा बढेपछिको विकल्प के ? पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छे दर्शन हेर्ने गर्दथे । सिद्धान्त हेर्ने गर्दथे । त्याग, तपस्या र बलिदान हेर्ने गर्दथे । अहिले त्यस्तो अवस्था रहेन’ — भन्नुभयो ।
‘नेपालको भविष्य के हुने हो ? नेपाली जनताको भविष्य के हुने हो ? नेपालको राजनीतिको भविष्य के त ? भनेर आफुलाई चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुकै अगुवाइ हुने गरेका छन्’ एकृकित समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो । अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरु मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको पनि उल्लेख गर्नुभयोे।