तम्घास — अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ । ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको हो ।
रेसुङ्गा र अयोध्याबीच त्रेता युगदेखि सम्बन्ध भए पनि धार्मिकसम्बन्ध प्रगाढ बन्न नसकेको भन्दै अयोध्याबाट यहाँ आउनुभएका योगी शम्भुनाथ जी महाराजले रेसुङ्गा क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न आफूले सहयोग गर्ने बताउनुभयो । उहाँले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तिको लागि रेसुङ्गाका ऋष्यश्रृङ्गे ऋषिले खेलेको भूमिका भारतमा व्यापकरुपमा प्रचार भए पनि रेसुङ्गा क्षेत्रपछि पर्नु दुर्भाग्यको विषय भएको बताउनुभयो ।
धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुङ्गाको अयोध्यासँग त्रेतायुगदेखिको सम्बन्ध विस्तारसँगै साधुसन्तको आवतजावतमा वृद्धि गराउने उहाँको विश्वास छ । धार्मिक महोत्सवका अवसरमा योगी शम्भुनाथ जी महारा, स्वामी राजेन्द्रनन्द जी महाराजलगायतका साधु सन्तद्वारा महायज्ञ पनि सञ्चालन गरिएको रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिनुभयो ।