फाइल तस्वीरः एमालेका उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङ ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानविनमा सहयोग गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै एमालेका सांसद् गुरुङले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई समर्थन र सहयोग गर्न एमाले तयार रहेको बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद् गुरुङले ‘नेकपा एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौं । उपमहासचिव गुरुङले भन्नुभयो, ‘सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरु गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानविन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही पनि नछुटुन्, निर्दोष व्यक्ति कोही पनि परोस् भनी लागोस्’, उहाँले जोड दिनुभयो ।

यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरुङले सदनलाई जानकारी गराउनुभयो ।

मन्दीमा फसिरहेको अर्थतन्त्रलाई उकास्ने प्राथमिकता र सिद्धान्त आउनुपर्नेमा जोड दिँदै उहाँले नीतिगत, संरचनागत र सिद्धान्ततः प्रस्ट हुनेगरी प्राथमिकता नआएको बताउनुभयो । ‘बजेटले आत्मविश्वास जगाउनुपर्छ, त्यो विश्वास जगाउने प्रयास प्राथमिकतामा देखाउन सकेको छैन’, उपमहासचिव गुरुङले भन्नुभयो । उहाँले फजुल खर्च कम गर्न, सङ्घीय तथा प्रदेश सरकारका मन्त्रालयका सङ्ख्या घटाउन र विभागलाई पनि घटाउन सुझाव पनि दिनुभयो ।