फाइल तस्वीरः तीन दशका शीर्ष नेताहरु ।
काठमाडौं — प्रतिनिधिसभाका मुख्य तीन टूला राजनीतिक दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । देशको वर्तमान राजनीतिक घटनाक्रम, आगामी बजेटलगायत विविध विषयमा शीर्ष तीन नेताहरुबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफलमा सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले भेटघाटका लागि बोलाउनुभएको बालुवाटार स्रोतले बताएको छ । हिजो सोमबार मात्रै संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्णको नाम सर्वसम्मत सिफारिस गरेको थियो । प्रधानन्यायाधीको नाम अनुमोदन गर्नका लागि संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने छ ।

त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि संसद्मै विचाराधीन रहेकोले पनि यी विषयलाई निराकण गर्न तीन ठूला पार्टीका शीर्ष नेताहरुबीच छलफल भैरहेको छ । तीन शीर्ष नेताहरुको भेटवार्तामा राष्ट्रपति कार्यालयमा अलपत्र बनेको नागरिकता विधेयकको बारेमा पनि छलफल हुने बताइएको छ ।