फाइल तस्वीरः परीक्षा दिंदै विद्यार्थी ।
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु गरेको छ । बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने उक्त परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको कक्षा १२ को परीक्षामा ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड बृद्धीको लागि परीक्षा दिंदैछन् । आजबाट सुरु भएको परीक्षका लागि एक हजार चार सय ५३ वटा परीक्षा केन्द्रहरु तोकिएका छन ।

परीक्षालाई अनुशासित र मर्यादित बनाउन ३१ हजार जनशक्ति परिचालन गरिएको परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी परिचालिन गरिने छ । परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् ।

यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।