काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई जोगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज सोमबार प्रतिनिधिसभा बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सिङ्गो अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको भन्दै मिलीजुली एकअर्कालाई जोगाउने काम नगर्न ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तातेपछि बिस्तारै सेलाउदै गएको आभाष भएको जिकिर गर्नुभयो । त्यस्तै लामिछानेले सरकारले पेश गरेको पूर्वबजेट प्रस्ताव आशा लाग्दो नभएको र विश्वास गर्न सक्ने आधार नै नभएको बताउनुभयो ।
उहाँले असधारण अवस्था रहेको अर्थतन्त्रलाइ सहि बाटोमा ल्याउनका लागि आशाका पुलिन्दा नभई समाधानमूखी नीति अङ्गीकार गर्न सरकारलाई सुझाव दिनुभयो ।